काठमाडौं माघ, २–
भर्खरै सम्पन्न निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली कांग्रेसमा आरोप–प्रत्यारोप र गुटउपगुटका गोप्य भेटघाट चलिरहेकाबेला कांग्रेसमा मात्र होइन नेपालकै राजनीतिमा ठुलो अर्थ राख्ने कोइराला परिवारका तीन हस्तीको भेटघाटले नेपाली कांग्रेसमा मात्र होइन नेपाली राजनीतिमै तरंग पैदा गरिदिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी पुत्र एवम् कांग्रेसका महामन्त्री शशांक कोइराला, नोना पुत्र शेखर कोइराला तथा गिरिजा पुत्री सुजाता कोइरालाको मंगलबारको भेटघाटले राजनीतिमा तरंग पैदा भएको हो । मंगलबार नेत्री कोइरालाको निवासमा करिब तीन घण्टाको लञ्च मिटिङमा तीन कोइराला कांग्रेसको भावी राजनीतिका बारेमा छलफल गर्न व्यस्त देखिएका थिए । करिब ७ महिना पहिले पनि तीन कोइरालाको भेटले निकै चर्चा परिचर्चा पाएको थियो । निर्वाचन पछिको आजको भेटघाट उनीहरुको लागि पहिलो भेटघाट पनि हो । मंगलबारको भेटघाटमा तीन नेताले मुख्यतया भर्खरै सम्मपन्न निर्वाचनमा कांग्रेसले बेहोरेको हार, तथा भातृसंस्थामा देखिएको विवादकाबारे छलफल भएको कोइराला निकट स्रोतहरुको दाबी रहेको छ । आजको भेटमा सहभागी शेखर कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाका अनुसार आजको भेटघाटमा उनीहरुले कांग्रेसले निर्वाचन हार्नुका कारणकाबारे बिशेष छलफल गरेका थिए । उनीहरुले कांग्रेसले किन निर्वाचन हार्यो ? नेतृत्व कहाँनिर चुक्यो ? कांग्रेसको बिदेश नीति किन कमजोर बन्यो ? तथा भातृसंस्थाको विवादको कारण के हो भन्ने बिषयमा केन्द्रीत रहेर उनीहरुले छलफल गरेको बुझिएको छ । अब बलियो कांग्रेस निर्माणका लागि विभिन्न गुटमा विभक्त कांग्रेस भएर होइन एउटै र बलियो कांग्रेस भए मात्र सम्भव हुने उनीहरुले निस्कर्ष निकालेको बुझिएको छ । पार्टी भित्र संस्थगत शैली नदेखिएकाले अब तीन कोइरालाले पार्टीलाई संस्थागत ढंगले अघि बढाउने प्रतिवद्धता समेत जनाएको बुझिएको छ । उनीहरुले पार्टीलाई पुरानै अवस्थामा फर्काउने दाबी समेत गरेका छन् । यसअघि गएको साउन ४ गते भेटघाट गरेका तीन कोइरालाको आजको भेटघाटले विवादमा रुमलिएको कांग्रेसमा केही भएपनि आशा पलाएको देखिएको छ । कांग्रेस भित्र उठिरहेको आगामी महासमिति, विशेष महाधिवेशन लगायतलाई मात्र लक्षित गरेर नेतृत्व हत्याउने उद्देश्यले मात्र भेटघाट गरिएको भए यो भेटघाटले त्यति ठुलो उपलब्धी हुने देखिदैन तर, साँच्चिकै कांग्रेभस पार्टीको सुधारका लागि गरिएको भए यो भेटघाटले पक्कै पनि राम्रै नतिजा प्रदान गर्ने कतिपयको बिशलेषण रहेको छ ।