बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुमार्गी सिरोहिया विवाद अदालतसम्मः २५ करोड क्षतिपूर्ति भराउनुपर्ने माग सहित कान्तिपुरका कैलाशविरुद्ध सुमार्गीद्वारा मुद्दा दर्ता

आइतबार, पुष २३ २०७४

 

काठमाडौं पुस, – 
व्यवसायी अजय सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन् । केही समय अघिदेखि व्यवसायी सुमार्गी र
 कान्तिपुरका मालिकबीचको जुहारी उत्कर्षमा पुगेको थियो । सुमार्गीले कान्तिपुरका कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । आईतबार व्यवसायी सुमार्गीले  वारेसनामा मार्फत  सिरोहियाविरुद्ध गाली बेइज्जति मुद्दा दायर गराएका हुन् । 

यसअघि सिरोहियाले आफू मालिक रहेको कान्तिपुर मार्फत  सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याउन लागेको समाचार प्रकाशन तथा प्रसारण गर्न लगाएका थिए । त्यति मात्रै होईन उनले व्यवसायी सुमार्गी आफ्नो व्यवसायिक कामको सिलसिलामा दुबई जाँदा पनि सुमार्गीले  पक्राउ पर्ने डरले नेपाल छोडे भनेर समाचार प्रकाशन तथा प्रसारण गराएका थिए । सिरोहियाले आफ्ना लगानिका मिडियाको चरम दुरुपयोग गर्दै सुमार्गी दुबईमा समेत पक्राउ पर्न सक्ने र यता उनका भाई अरुण सुमार्गीले आफ्नो दाईलाई पक्राउ पर्नबाट जोगाउन प्रभावशाली मन्त्रीलाई भेटेको जस्ता भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण गर्न लगाएका थिए । यसअघि सिरोहियाले पैसाको वार्गेनिङ गर्दै पटक पटक आफ्ने चरित्र हत्या गरेको भन्दै व्यवसायी सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गर्दै निवेदन समेत दिएका थिए । 

आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्दाले ठुलै चर्चा पाएको थियो ।  

उक्त निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले दाबी गरेका थिए ।

२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी  जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक वार्गेनिङ गर्दै आएको बताएका छन् । उनले सिरोहियाले सञ्चार माध्यामको दुरुपयोग गर्दै निरन्तर प्रहार गर्न थालेपछि आफूले बाध्य भएर प्रशासन धाउनु परेको बताएका छन् । सिरोहियाले मिडियाको व्यापक दुरुपयोग गर्न थालेपछि यो मुद्दा अदालतसम्म पुगेको सुमार्गीको भनाई रहेको छ ।