दाङ पुस, २३–
आगामी माघ १ गतेदेखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिका र सबै वडा कार्यालयहरुमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य सम्पादन हुने छ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्ने छन् ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरी छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहेका छन् ।
साथै बैठकले वडा नम्बर २ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरबृद्धी गरी शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
अब उक्त शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा एमबीबीएस डाक्टरसहितको स्वास्थ्यकर्मी र ल्यावसहितको उपचार सेवा सञ्चालन हुने भएको छ ।