काठमाडौं पुस, २१–
पछिल्लो समय नेपाली चलचित्रमा पनि ठुलो बजेट लगानी गर्नै प्रचलन ह्वात्तै बढ्न थालेको छ । अहिले निर्माण युनिटले जनाए अनुसार नेपाली चलचित्र ‘अमेरिका ब्वाईज’ छायांकनमा मात्रै २ करोड रुपैया खर्च भएको छ । दुई करोड खर्च सकिएसँगै यो चलचित्रको इन्डक्ल्याप पनि गरिएको छ ।
करिब ६० दिन लगाएर झापा र काठमाण्डौंमा छायांकन गरिएको यो चलचित्र कार्यकारी निर्माता प्रकाश भूजेल रहेका छन् । भर्खर चलचित्रको इन्डक्ल्याप गरेका निर्माता भुजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको जानकारी गराए । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘अमेरिका ब्वाईज’ लाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । पौडेलका अनुसार यो चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।
नयाँ बर्ष २०७५ को बैशाख १४ देखि प्रदर्शन गर्ने तयारी गरेको निर्माण यूनिटले अहिले भने उक्त डेटबाट चलचित्र प्रदर्शनको मिति केही पर सरेको जनाएको छ । अब भने यो चलचित्र आगामी जेठ ४ गतेबाट प्रदर्शनमा आउने बताईएको छ ।
चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यमूना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन् ।
विवेक पाण्डेको कथा रहेको चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका हुन् । चलचित्रमा दीपक आर.जे र जयान जे. वाइवाले संयुक्त रुपमा संगीत भरेका छन् । निर्माण पक्षले कमेडी जनराको चलचित्रलाई दर्शकले रुचाउने आशा समेत गरेको छ ।