मोहत्तरी पुस, २१–
हाँस्य कलाकारबाट सामाजिक कार्यकर्ताको छवि बनाउन सफल कलाकार सिताराम कटेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । भूकम्प पछिको एकिकृत बस्ती होस या तराईमा बनाईएका मुसहरहरुको बस्तीनै किन न हुन् । यतिबेला धुर्मुस सुन्तलीले जनताका लागि निरन्तर काम गर्दै आएका समाचार विभिन्न सञ्चार माध्याम तथा सामाजिक सञ्जाल मार्फत निरन्तर आईरहेका छन् । गएको वर्षातको समयमा बाढी पीडितका लागि पनि साँच्चिकै भगवान बनेका धुर्मुस सुन्तली यतिबेला तराई तथा मधेशका जिल्लामा जाडोबाट पीडित बनेकाहरुलाई न्यानो कम्मल वितरण गर्नमा तल्लिन देखिएका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको मनरा शिसवा गाउँपालिका १० स्थित मुसहरवस्तीमा कम्बल वितरण गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा बस्दै आएका ६५ घरपरिवारलाई उनीहरुले कम्बल वितरण गरेका हुन् ।
चिसोमा काम्दै कम्बल लिन आएका ७५ वर्षीय विपति सदाले न्यानो कम्बल पाउँदा निकै खुशी लागेको बताए । शितलहरसँगै चल्ने चिसो हावाले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । सुत्केरी, बालबालिका, बृद्धवृद्धा, असक्तहरु बढी प्रभावित भएकमा छन् ।
त्यस्तै,नेपाली सेनाले पनि बाक्लो कुहिरो र शितलहरले महोत्तरीको जनजीवन प्रभावित बनेपछि सार्वजनिक स्थानहरुमा आगो बाल्ने दाउरा र चिया वितरण सुरु गरेको छ ।
महोत्तरीको परकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणले एकडारा गाउँपालिकाको पाँच स्थानमा र मटिहानी नगरपालिकाको चोकमा आगो बाल्ने दाउरा र चिया वितरण गरेको हो ।
स्थानीयहरुले जाडोमा यसरी सरसहयोग पाउदा न्यानो पाएपछि निकै खुशी भएको समेत बताउने गरेका छन् ।