बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्धारित समय अगावै डोनाल्ड ट्रम्प सम्बन्धी विवादास्पद पुस्तक सार्वजनिक हुने

शुक्रबार, पुष २१ २०७४

काठमाडौं पुस, २१–
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी विवादास्पद पुस्तकका लेखकले समय अगावै उक्त पुस्तक सार्वजनिक हुने बताएका छन् ।

ट्रम्पका वकिलहरुले उक्त पुस्तकमाथि रोक लगाउने प्रयास गरेपछि उनले यस्तो बताएका हुन् ।

माइकल उल्फले लेखेको ‘फायर एण्ड फ्युरी’ नामक पुस्तक तोकिएको मितिभन्दा चार दिनअघि शुक्रवार सार्वजनिक हुने भएको छ ।

लेखकले ट्वीटमार्फत पुस्तक सार्वजनिक गर्ने निर्णय घोषणा गर्दै लेखेका छन्, ‘भोलि किताब किन्न सकिनेछ । धन्यवाद राष्ट्रपति ।’

ट्रम्पका वकिलहरुले उक्त पुस्तकमा थुप्रै गलत विवरणहरु रहेको बताएका छन् ।

पुस्तकमा ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय चुनाव अघि रुसी समूहसँगको भेटलाई ‘देशद्रोह’ भन्दै व्याख्या गरिएको छ ।

उक्त पुस्तकमा राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्प आफैँ चकित परेको पनि उल्लेख गरिएको छ ।

ह्वाइट हाउसले पुस्तकको सत्यताबारे प्रश्न उठाएको छ ।

गत अगष्टमा पदबाट बर्खास्त गरिएका ब्याननले मानसिक सन्तुलन गुमाएको भन्दै ट्रम्पले टिप्पणी गरेका छन् ।

यसअघि ट्रम्पका वकिलले उल्फले कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएका थिए ।

जन सोपेल भन्छन्, “यदी यो पुस्तकको आधा मात्रै विषयहरु सत्य भए, त्यसले राष्ट्रपति र अस्तव्यस्त ह्वाइट हाउसको नराम्रो तस्वीर बाहिर ल्याउने छ । ट्रम्प एकदमै रिसाएकामा कुनै आश्चर्य छैन ।”

वासिङ्टन पोस्टले प्रकाशित गरेको सूचनामा, लेखक र प्रकाशकले थप प्रकाशन र वितरण तत्काल रोक्नुपर्ने उल्लेख छ ।

उक्त सूचनामा, उल्फले पुस्तकमा ट्रम्पबारे थुप्रै गलत र आधारहीन विवरणहरु समेटेको आरोप लगाइएको छ । बीबीसी