चितवन पुस, १८–
नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द गरिने आयोजनाले जनाएको छ । निर्माणधिन उक्त उक्त सडकको कामलाई गति प्रदान गर्नको लागि त्यसो गर्नुपरेको आयोजनाको भनाई छ ।
गएको १२ पुसमा ठेकेदार र आयोजना प्रमुखसहित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको थियो । दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउन लागिएको हो ।
आज रातिबाट नै कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम शुरु गर्न लागेका हुन् । २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको आयोजनाले जनाएको छ ।
सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।
ट्राफिक प्रहरीले रातिमा सडक बन्द हुने भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न यातायात व्यवसायी राष्ट्रिय महासंघ मार्फत अनुरोध गरिसकेको छ । सो बेलाभन्दा ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
यस्तै तनहुँतर्फबाट आउने सवारी साधनहरुमध्ये बसलाई मुग्लिनमा र अन्यलाई आँबुखैरेनीतर्फ नै रोक्ने गरी समन्वय गरिएको छ ।
नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने सवारी साधनमध्ये बस र साना सवारीलाई दासढुंगाको मदन आश्रित पार्क नजिक र ट्रकहरुलाई रामनगरको ओरालो नजिकको भतेरी जंगलमा एकतर्फी बनाएर रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यहाँ ट्रक नअटाएमा केन्द्रीय बस टर्मिनल भरतपुरको खाली चौरमा रोकिने उनले बताए ।