काठमाडौं पुस, १६–
पुस १६ राष्ट्रिय मेलमिलाप दिवस को दिन हो । ४२ औं राष्ट्रिय मेलमिलाप दिवस । मुख्यतया मेलमिलाप दिवस नेपाली कांग्रेससँग जाडिएको बिषय हो । तर, अहिले मेलमिलाप सबैका लागि उतिकै खड्किएको बिषय हो । करिब ८ बर्ष भारतमा निर्वासित भएर बसेका नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति सहित नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले हरेक बर्ष मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ । तर, ४२ बर्षदेखि निरन्तर यो दिवस मनाउदै आएको कांग्रेसमा मेलमिलाप दिवसले कुनै पनि प्रभाव पार्न सकेको देखिदैन । निरन्तर मेलमिलाप दिवस मनाउदै आएको कांग्रेसमा भने सँधै मेलमिलापको कमी देखिदै आएको छ । कांग्रेसले बीपकिो मेलमिलाप दिवसलाई सँधै भजाउने गायत्री मन्त्रको रुपमा मात्र गाइरह्यो तर, कहिले पनि त्यसलाई व्यवहारमा लागु गर्ने प्रयास सम्म गरेन । यतिवेला निर्वाचन हारेर थला परेको कांग्रेसले आजैको दिनबाट प्रतिज्ञा गर्नुपर्ने थियो की हामी एक जुट भएर मिलेर बलियो कांग्रेस बनाउछै भनेर । तर, त्यो पटक्कै देखिएको छैन । कांग्रेसले गर्नुपर्ने त के थियो भने आफू त मिल्नु पर्ने थियो थियो समग्र देशलाई नै मेलमिलापमा हिडाउनुपर्ने कांग्रेसले आज मेलमिलाप दिवसको दिन कांग्रेसलाई पनि मिलाउन नसक्नु पक्कै पनि दुःखद बिषय हो ।
निरन्तर ४२ बर्षदेखि मेलमिलाप दिवस मनाउदै आएको कांग्रेसले मेलमिलाप दिवसकै अवसरमा सँगै एउटै कार्यक्रम गर्नुको साटो छ्ट्टाछ्ट्टै कार्यक्रम आयोजना गर्नु राम्रो र मेलमिलापको संकेत देखिदैन । विभिन्न गुट र समूहले आफ्ना आफ्ना गुटका नेतालाई प्रमुख अतिथि घोषणा गर्दै कार्यक्रम आयोजना गरेका छन् । काठमाडौंमा मात्रै विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् । धेरै ठाँउमा कार्यक्रम गर्नु नराम्रो होईन तर, सल्लाह र समझ्दारीमा गर्नुको साटो गुटको नेतालाई प्रमुख अतिथि र अतिथि बनाउने होडमा कार्यक्रमम गर्नु कांग्रेसका लागि बलियो बन्ने संकेत होईन । कांग्रेसको भातृ संगठन नेविसंघले राष्ट्रिय सभा गृहमा मेललिाप दिवसका असरमा अन्र्तक्रिया कार्यक्रम राखेको छ ।
जसमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यस्तै राजधानीकै त्रिचन्द्र क्याम्पसमा अर्को कार्यक्रम राखिएको छ । जहाँ सभापति देउवासँग असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, युवा नेताहरु प्रदीप पोडेल, गुरुराज घिमिरे लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
त्यसैगरी कांग्रेसकै लोकेश ढकाल समुहले पनि आजै राजधानीमा कार्यक्रम राखेको छ । जसमा कांग्रेस एमालेका शीर्ष नेताहरुलाई अतिथिका रुपमा बोलाइएको छ ।
यी तिनवटै कार्यक्रम वीपीका नाममा राखिएपनि उदेश्य भने फरकफरक रहेका छन् । आ–आफ्नै समूह, गुट र स्वार्थका लागि राखिएका यस्ता कार्यक्रममा एक पक्षले अर्को पक्षको उछितो काढ्ने काम गर्नेबाहेक वीपीको नीति कार्यन्वयनमा खासै सहयोग पुग्ने देखिन्न । किनभने विगत बर्षमा पनि कांग्रेसका विभिन्न समुहहरुले आयोजना गरेका कार्यक्रममा एकले अर्कोको उछितो काढ्ने काम मात्रै हुने गरेका उदाहरण भेटिन्छन् ।
नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तथा प्रजातन्त्रका लागि कठिन राजनीतिक संर्घष गरेका विपी कोइरालाले सुरुवात गरको राजनीतिक मेलमिलापको सान्दर्भिकता अझै छ तर, यो नीतिलाई न त कांग्रेसले नै अनुसरण गरेको छ न अरु कुनै दलले नै । दुनियाँलाई राष्ट्रिय मेलमिलापको गीत सुनाउने कांग्रेसले आफैभित्रको मारमारलाई मेलमिलापमा परिणत गर्न सकेको देखिदैन ।
केही दिनअघि मात्रै स्याङजामा चुनावी समिक्षा गर्न बसेको बैठकमा भएको कार्यकर्ताबीचको हानाहानबाटै कांग्रेसमा कस्तो मेलमिलाप छ भन्ने प्रश्ट हुन्छ । त्यतिमात्रै होइन, निर्वाचनमा भएको पराजयको विषयलाई लिएर कांग्रेसका नेता कार्यकर्ताको जुहारी र नेतृत्वको राजिनामा माग्नुले पनि मेलमिलापको सिद्धान्तविपरित कांग्रेस चलेको प्रष्टै हुन्छ ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर आजकै दिन स्वदेश फर्किएका थिए ।
नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका हुन् । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।
तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वतन्त्र राज्य सिक्किमलाई भारतमा गाभेर अन्य मुलुकहरुप्रति पनि गिद्धे दृष्टि राख्न थालेको थाहापाएपछि विपी स्वदेश फर्किएका थिए ।