काठमाडौं पुस, १४–
कमल थापाले मन्त्रीबाट बर्खास्त गर्न सिफारिस गरेका शहरी विकासमन्त्री दिलनाथ गिरी बर्खास्त हुनु अघि नै राजीनामा दिने मुडमा पुगेकाख छन् । मन्त्री गिरीले पार्टी अध्यक्ष कमल थापालाई निरंकुश, सामन्ति र अकर्मन्य नेताको आरोप लगाउदै अध्यक्षबाट राजीनामा समेत मागेका छन् । मन्त्री गिरीले कमल थापाको सामन्ति र निरंकुशतन्त्रविरुद्ध पार्टी जोगाउन निरन्तर संघर्ष गर्ने बताएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद बैठकमा सचिव सरुवाका विषयमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच भनाभन भएको थियो ।
थापा र गिरी एउटै पार्टीका मन्त्री भएकाले उनीहरुबीचको विवाद प्रधानमन्त्री शेरवहादुर देउवाले मिलाएका थिए ।
त्यही बिषयलाई लिएर पार्टी अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री समेत अध्यक्ष कमल थापाले गिरीलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीले हटाउनुभन्दा अघिनै आफू राजिनामा दिने मुडमा रहेको गिरीले निकटस्थलाई बताएको स्रोतको दाबी छ । मन्त्रिपरिषद बैठकमै थापाले गिरीलाई हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
तर, देउवाले आफू अहिले कसैलाई हटाउने वा राजिनामा माग्ने पक्षमा नरहेको बताएका थिए ।
राप्रपा उपाध्यक्ष समेत रहेका गिरीले अध्यक्ष कमल थापामा सामन्ति संस्कार रहेको भन्दै उनकै अकर्मन्यताका कारण पार्टीले चुनावमा पराजय भोग्नुपरेको बताएका छन् । पराजयको जिम्मेवारी लिँदै थापाले पार्टी अध्यक्ष र उपप्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने गिरीले बताए ।