काठमाडौं पुस, १३–
काठमाडौंमा एक भारतीय नागरिकको हत्या भएको छ । काठमाडौंमा रहेको द अमदाब्लम होटलमा भारतको सिलगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको काठमाडौं प्रहरीले जनाएको छ ।
गुरुङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले डोंगी शेर्पासहित पाँच जनालाई पक्राउ गरेको छ । गुरुङ र होटलको फ्रन्ट डेस्कमा काम गर्ने डोंगी शेर्पाबीच सुरुबाटै विवाद हुदै आएको प्रहरी स्रोतको भनाई रहेको छ ।
दुईजनाबीच विवाद परेपछि शेर्पाले डेस्कटप कम्युटरले टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङलाई होटलमा कार्यरत सुरक्षा गार्डले पनि आक्रमण गरेको प्रहरीको भनाइ छ ।
बुधवार मध्यराति सिलगुडी घर भएका गुरुङ, अर्जुन थापा र गणेश ढुंगेल उक्त होटेलमा पुगेका थिए । उनीहरु ठमेलमा मदिरा सेवन गरेर सुत्न होटलमा आएका थिए । होटलमा पुगेपछि ढुंगेल रुममा सुतेको तर थापा र गुरुङले रिसेप्शनमा गएर थप मदिरा खाने भन्दै बाहिरबाट भए पनि ल्याइदिन आग्रह गरेका थिए । मदिरा ल्याउने र नल्याउने बिषयमा उनीहरुबीच विवाद भएपछि उक्त घटना घटेको प्रहरीले जानकारी गरायो ।