काठमाडौं पुस, ११–
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको विवाद उत्कर्षमा पुगेको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच रानीपोखरी पुनःनिर्माणको बिषयलाई लिएर विवाद चर्किएको हो । उपमेयर खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको जिकिर गरेकी छिन् ।
काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने उपमेयर खड्गीको दाबी छ ।
उनले मंगलबार बिहान रानीपोखरीको अबलोकन गरेपछि संचारकर्मीहरुसँग उक्त प्रतिक्रिया दिएकी हुन् । उनले विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढने पनि प्रष्ट पारिन् । उपमेयर खड्गीले रानीपोखरी निर्माणको सम्बन्धमा मेयर शाक्यले आफूसँग सामान्य परामर्श समेत गर्न नचाहेको जानकारी गराईन् ।
उपमेयर खडगीले पूरातत्व विभागको स्विकृतिविना कुनै पनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने दावी समेत गरिन् ।