काठमाडौं पुस, –
मूलुककै सबैभन्दा पुरानो पार्टी जसको इतिहाँसनै ७० बर्ष भन्दा पुरानो छ, त्यो पार्टी नेपाली कांग्रेस आज अर्धमृत अवस्थामा अस्पतालको शैयामा छट्पटाई रहेको छ । कांग्रेसलाई नजिकबाट बुझ्नेहरु वर्तमान अबस्थामा नेतृत्व तहमा रहेका कांग्रेस नेताहरुकै कारण कांग्रेसले यो हदसम्मको अवस्था भोग्न पुगेको बताउने गर्छन् । धेरै हदसम्म यो साँचो सावित पनि भैरहेको छ । नेपाली कांग्रेसले आजसम्मको इतिहाँसमा यति नराम्रो सर्मनाक पराजय सायद भोगेको थिएन । कहीले काही दुई चार सिट तलमाथि स्वाभाविकै मानिन्छ तर, यो पटक कांग्रेस प्रत्यक्षतर्फको सिट संख्यामा निकै खुम्चिन पुगेको छ । हुन त नेपाली कांग्रेसमा गुटगत मारामार पुरानै रोग हो र कांग्रेस नेताहरुले भन्ने पनि गर्थे कांग्रेसले निर्वाचन हार्छ भने अरु दलसँग होईन कांग्रेससँग नै हार्छ । पहिला पहिलाको निर्वाचनमा धेरै हदसम्म यो कुरा सत्य सावित हुने गथ्र्यो तर, यो पटक यो आंशिकमा झर्न पुग्यो । अहिलेको निर्वाचनमा कांग्रेसले निर्वाचन हार्नुको मुख्य कारण मूल नेतृत्वको अदुरदर्शिता नै हो । एकातिर कांग्रेसको मूल नेतृत्वसँग भिजनको अभाव र अर्कोतिर मुख्य कम्युनिष्ट घटकहरुको गठवन्धनले कांग्रेस तंग्रिनै नसक्नेगरी पच्छारीएको प्रष्ट देखिन्छ । एकातिर मुख्य कम्युनिष्ट पार्टीहरुको निर्वाचनपछि पार्टी एकतासम्म पुग्नेगरीको गठवन्धन अर्कोतिर कांग्रेसको मूल नेतृत्व एजेण्डाविहिन हुनु नै कांग्रेसको सर्मनाक पराजयको कारक हो । नेपाली कांग्रेसले बदलिदो समयअनुरुप आफूलाई अपडेट गर्ननसक्ने नेतृत्वलाई पार्टीको बागडोर जिम्मा लगाउनुनै कांग्रेस हारको कारक हो । जहिले पनि विवादको घेरामा रुमल्लिरहेको कांग्रेसमा निर्वाचन हुनुभन्दा केही समय पहिलेदेखि विवादका स्वरहरु सुनिएका थिएनन् तर, जब, २१ गते बेलुकाबाट कांग्रेसको पक्षमा प्रतिकुल मतपरिणाम सार्वजनिक हुन थाल्यो फेरि कांग्रेसमा सुस्ताएका गुटहरु एकाएक सक्रिय हुन पुगे । मूल नेतृत्वप्रति आक्रामक आबाजहरु बुलन्द हुन पुग्यो । अहिलेसम्म पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले भोगेको पराजयप्रति कुनै औपचारिक मुख खोलेका छैनन् । तर, देउवाका विश्वासपात्रहरुले देउवाको बोली बोल्न थालिसकेका छन् । अहिले कांग्रेसमा देउवाको बचाउ तथा आक्रमणमा दुई थरी मत सार्वजनिक हुने क्रम तिव्र रुपमा अघि बढेको देखिन्छ । देउवाको कट्टर आलोचकका रुपमा पार्टीका युवा नेता गगन थापा र प्रभावशाली नेता प्रकाशमान सिंह खुलेर देखिएका छन् । उनीहरुले देउवाकै नेतृत्वले पार्टीले पराजय भोगेको भन्दै नेतृत्व परिवर्तनको आबाज हरेक दिन जसो व्यक्त गर्न थालेका छन् । कांग्रेस भित्र देउवाको बचाउमा बालकृष्ण खाँण तथा ज्ञानेन्द्र कार्कीहरु सक्रिय भएर लागेका छन् । नेता खाँणले त केही समय पहिले गगन थापाले देउवाप्रति व्यक्त गरेका बिचारमा समेत आपत्ति जनाउदै नेतृत्व परिवर्तन नहुने संकेत गरिसकेका छन् । अर्कोतर्फ नेपाली कांग्रेसका हस्तिहरु, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रामशरण महत, शेखर कोइराला, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ लगायतले निर्वाचन हार्न पुगेपछि कांग्रेसमा अहिले आन्तरिक कलह छताछुल्ल भएको छ । नेताहर धनराज धगुरुङ, रामहरी खतिवडा, चन्द्र भण्डारी लगायतले देउवाको विकल्पमा गगनलाई अघि सार्न थालिसकेका छन् । अहिले कांग्रेसमा देउवामाथि प्रहार बढाउन विभिन्न गुटहरुका आन्तरिक छलफल यिदनहु हुन थालेका छन् । रामचन्द्र पौडेलले समेत देउवको नेतृत्वप्रति असन्तुष्टि जनाईरहेकाबेला पछिल्लो मतपरिणामले टसको् मस नभएका देउवा पार्टीको पराजयको भारी एक्लै लनबोक्ने बताउन थालेृका छन् । उनले बालुवाटार पुगेका नेताहरुलाई टिकट बाँड्ने काममा आफू मात्र सहभागी नभएकाले टिकट बाँड्ने जिम्मेवारीमा बसेका रामचन्द्र पौडेल, खुमबहादुर खड्का, शशांक कोइराला लगायत सबैले पार्टी पराजयको जिम्मेवारी लिनुपर्ने बताउन थालेका छन् । यतिबेला कांग्रेसमा घरझगडा उत्कर्षमा छ । कांग्रेसमा देउवाको विकल्प खोज्न थालिए पनि यो कुराले देउवालाई पटक्कै छोएको देखिदैन । देउवाको मुड भनेको बिशेष महाधिबेशन बोलाउने कुनै हालतमा देखिदैन । उनी केन्द्रीय कमिटिको बैठक बोलाउने भन्दा परको सोंचमा नरहेको देखिन्छ । कांग्रेसमा अहिले एउटाले अर्कोलाई खुइल्याउने क्रम बढेको देखिन्छ । चुनावको बेला लगभग मत्थर देखिएका देउवा, पौडेल र सिटौलाका अलवा अहिले अरु गुट पनि सक्रिय रहेको देखिन्छ । तर, साँचो कुरा अहिलेको नेतृत्वसँग भिजन नभएको भने कटु सत्य हो । यदि अब पनि यहि नेतृत्व कांग्रेसमा रही रहने हो भने आउदा दिन कांग्रेसका लागि अप्रिय सावित हुने पक्का जस्तै छ । देउवाले संविधानको कार्यन्वयन गरे तर, आफ्नो कार्यकालमा उनले गरेका राजदुत प्रकरण, प्रधान न्यायाधीश प्रकरण तथा आइजीपी प्रकरणले देउवा जनतामाझ निकै अलोकप्रिय भए हो त्यसैको सजाय पाएको हो यो निर्वाचनमा कांग्रेसले । यति हुदा पनि समानुपातिकतर्फ कांग्रेसले निकै राम्रो मत बटुलेको छ । यसको प्रष्ट सन्देश भनेको कांग्रेस पार्टी ठिक छ तर, नेतृत्व ठिक छैन । अतः नेतृत्व परिवर्तन गर्न सके कांग्रेस केही पनि विग्रेको छैन फेरि माथि उठ्ने पक्का छ ।