काठमाडौं पुस, ४–
निर्वाचन सकिए लगत्तै पार्टी एकिकरण गर्ने घोषणा गरेका एमाले र माओवादीको पार्टी एकिकरण हुनेमा समस्या उत्पन्न भएको छ । एमाले र माओवादी भित्रकै प्रभावशाली नेताहरुनै पार्टी एकिकरणको विपक्षमा देखिन थालेका छन् । एमाले भित्र पनि केही नेताहरुलाई एमाले र माओवादी पार्टीको एकिकरण अरुचिकर भैरहेको देखिएको छ । एमालेका बेदुराम भुषाल र विजय पौडेल त एकताका विपक्षमा देखिसकेका छन् । अरु नेताहरु पनि एकताको विपक्षमा हुदा हुदै बोल्न सकिरहेका छैनन् । उनीहरु कसले पहिला मुख खोल्ला भनेर पर्ख र हेरको अवस्थामा रहेका छन् । गत आईतबार मात्र साझा धारणा सार्वजनिक गर्ने भन्दै केपी ओली र प्रचण्डले पत्रकार सम्मेलनको आयोजना गरे तर, उनीहरुले सार्वजनिक गरेका बिचार हेर्दा लाग्थ्यो उनीहरुले साझा धारणा निर्माण गर्न समेत नसकेको देखियो ।
ओली र प्रचण्डको शेरबहादुरलाई हेर्ने धारणा समेत साझा बन्न नसकेको देखियो । ओली देउवा प्रति कठोर देखिन्छन् भने प्रचण्ड नरम । प्रचण्डले कुनबेला ओलीसँगको गठवन्धन तोडेर देउवासँग सम्बन्ध गास्न पुग्ने हुन् भन्ने कुराले ओली सँधै तर्सित देखिन्छन् । पत्रकार सम्मेलन भन्दा अघि देउवासँग भेटघाट गरेका प्रचण्डलाई देउवाले प्रधानमन्त्रीको अफर गरेको कुरा प्रचण्डले पत्रकार सम्मेलनमा सार्वजनिक गरेनन् तर, पार्टीको बैठकमा सार्वजनिक गरे यो कुरालाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ । यस्ता कुरालाई हेर्ने हो भने दुई पार्टीको एकताको सम्भावना कठिन देखिन्छ । अझै माओवादीको सोमबार बसेको बैठकमा माओवादी नेता कृष्णबहादुर महराले पार्टी एकिकरणको बिषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नु एकता लगभग नहुने दिशामा अघि बढेको संकेत हो । उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएको महराको भनाइ उद्द्दृत गर्दै एक नेताले बताए । महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो । सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा महराले एमालेसँगको एकता सम्भव नभएको पनि स्पष्ट पारेका छन् । आईतबार राजधानीको पाँचतारे होटलमा बाम गठबन्धनका प्रमुखहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरी सन्देश दिन खोजे पनि वास्तवमा त्यसले कुनै एकताको सन्देश पनि दिन सकेन ।
दुई पार्टीका पछिल्ला केही गतिविधि हेर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई धक्का लाग्न थालेको छ । आइतबार जवरजस्ती पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा असन्तुष्टिले राम्रै ठाउँ पाएको हो ।