बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बैंकका जागिरेको यस्तो धन्दा !

सोमबार, पुष ३ २०७४

काठमाडौं पुस, ३–
 कृषि विकास बैंकको न्युरोड शाखामा भएको अनियमिततामा बैंकका सिनियर कर्मचारीहरुको समेत संलग्नता खुलेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका शाखा प्रबन्धकसहित थप तीन कर्मचारीलाई पक्राउ गरेको छ। 
ब्युरोले न्युरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ (इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठालाई सोमबार पक्राउ परेका हुन् । उनीहरुलाई बैंकिङ कसुर मुद्दामा अदालतबाट सिआइबीले थुनामा राख्न आदेश लिएको छ। 
४ करोड ९१ लाख घोटाला 
बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले दुई साताअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
बैंककी सहायक टेलर दीपिका रेग्मीको योजनामा घोटाला भएको अनुसन्धानमा देखिएको छ । रेग्मीसहित प्रहरीले बैंकका पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ । 
यसरी भयो घोटाला
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’ को रकम पेन्डिङमा राखेको देखाई उक्त रकम दीपिकाले आफूले राख्ने गरेकी थिइन् । करिब एक वर्षअघिदेखि उनले पटक–पटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ । बैंकको आन्तरिक छानबिनमै उक्त कुरा खुलेपछि सिआइबीमा उजुरी गरिएको थियो। दीपिकाको बयानका आधारमा अन्य कर्मचारी पक्राउ परेका हुन् । 
उक्त घोटालमा नेपाली सेनाका जर्नेल डा रमेश बिष्टमाथि पनि सेनाले छानबिन गरिरहेको छ। घोटाला भएको मध्ये ३२ लाख रकम उनको खातमा भेटिएको थियो । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।