काठमाडौं मंसिर, मंसिर २३–
नेपाल प्रहरीको डीआईजी पदबाट राजिनामा दिएर राजनीतिमा प्रवेश गरेका नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट वाम गठवन्धनको साझा उम्मेदवार बनेका पूर्व डीआईजी सिलवाल बहालवाला अर्थ राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता उदयशमशेर राणालाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
सिलवालले ६ हजार २ सय २२ मतान्तरले जीत हासिल गरेका हुन् । उनले समग्रमा २६ हजार ९ सय ५१ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राणाले २० हजार ७ सय २९ मत हासिल गरे ।
रोलक्रमले नेपाल प्रहरीको आईजीपी बन्ने लाईनमा रहेका सिलवाललाई नेपाली कांग्रेसकै अगुवाइमा आईजीपी हुन बाटो बन्द गरिएको थियो । वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा तेस्रो वरीयताका जयबहादुर चन्दलाई सरकारले आईजीपी बनाएपछि सिलवालले आफू योग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सिलवाललाई आईजीपी बनाउन परमादेश पनि दिएको थियो । तर, उक्त परमादेशलाई बेवास्ता गर्दै तत्कालीन सरकारले दोस्रो वरीयताका प्रकाश अर्याललाई आईजीपी बनाएको थियो ।
सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै पुनः सर्वोच्च पुगेका सिलवाललाई पक्राउ गर्ने, झूठा आरोप लगाउने जस्ता काम सरकार नै लागेको थियो । सिलवालले मुद्दा जित्ने भएपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गरिएको थियो ।
सर्वोच्चले आफ्नो मुद्दा खारेज गरेपछि डीआईजी पदबाट राजीनामा गर्दै सिलवाल आफूले राजनीति नगरे आफैमाथि राजनीति हुने खतरा रहेको भनदै नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यतिबेला कांग्रेसबाट अन्यायमा परेका सिलवाल अन्ततः ललितपुरका मतदाताले कांग्रेसकै नेतालाई निर्वाचनमा हराउँदै सिलवाललाई शानदार तरिकाले जिताउदै न्याय प्रदान गरेका छन् । अन्ततः सरकारको अन्यायमा परेका सिलवाल जनताद्वारा न्याय पाएर संघीय संसदको सांसद बन्न सफल भएका छन् ।