काठमाडौं मंसिर, १८–
आज मात्र बम आक्रमणमा परेर घाइते भएका कांग्रेस नेता एवम् काठमाडौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले घाइते अवस्थामै चुनावी सभालाई सम्बोधन गरेका छन् ।
सिफलमा आयोजना भएको काठमाडौं क्षेत्र नम्बर ४ र ६ को संयुक्त चुनावी सभालाई नेता थापाले साझ ७ बजेपछि सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा उनले आफू पछिल्लो संसद समस्या देखाउने, उत्तेजना फैलाउने होइन, समस्याको समाधान गर्ने सांसदको रूपमा काम गरेको स्मरण गराए। आउने संसदमा पनि समस्या समाधान गर्ने विषयमा आफू केन्द्रीत रहने भन्दै उनले भारत र चीनबीच सन्तुलित परराष्ट्र नीति, शिक्षा र स्वास्थ्यमा सबै नेपालीको पहुँच तथा विदेशिएको नेपाली युवालाई रोजगार दिने वातावरण बनाउन आफू लागिपर्ने बताए।
सोमबार घर दैलोमा रहेको बेला चपलीमा बम बिस्फोटमा परि घाइते भएका अन्तिम चुनावी सभालाई सम्बोधन गर्न चाबहिल पुगेका हुन्।
कान र ढाडमा चोट लागेको थापालाई घटना लगत्तै उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । थापाको चुनावी प्रचारमा रहेका अरू १० नौं जना घाइते भएका छन् । जसमध्ये ४ जना गम्भीर छन्।
चुनावी प्रचारको अन्तिम दिन थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिफलमा र काठमाडौं क्षेत्र नम्बर ३ र ६ मा मतदातालाई सम्वोधन गर्ने कार्यक्रम थियो ।
घटनापछि पनि थापाले आफ्नो चुनावी कार्यक्रम रद्द गरेनन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनी सिफलमा आयोजित सभामा सहभागी भए।
अनुहारमा ब्यान्डेज बाँधेर भए पनि कार्यक्रममा उपस्थित गगनलाई सुन्न उल्लेख्य संख्यामा सर्वसाधारण पनि जम्मा भए।