काठमाडौं मंसिर, १२–
पूर्व एआईजी तथा नयाँशक्ति पार्टीका नेता गणेशराज राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्यागसँगै उनले राजनीतिबाटै अलग भएको घोषणा समेत गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राईले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’
पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए उनले नयाँ शक्ति छाडेसँगै अब कुनै पनि दलको राजनीति नगर्ने प्रष्ट पारेका छन् ।
