काठमाडौं मंसिर, –
निर्वाचन सुरक्षलाई मजबुत बनाउन प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई धरपकड बढाउन थालेपछि नेत्र विक्रम चन्द लगायत नेकपाका उच्चस्तरिय नेताहरु भूमिगत हुन पुगेका छन् । प्रहरीले ‘विप्लव’ नेतृत्वका कार्यकर्तालाई उच्च निगरानीमा राखेर जहाँ भेट्यो त्यहि पक्राउ गर्ने रणनीति अघि सारेपछि ‘विप्लव’ लगायत माथिल्लो स्तरका नेताहरु भुमिगत भएको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ । अहिले प्रहरीले देशभर करिब नेकपाका ३ सय कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीको माथिल्लो नेतृत्वले मातहतका प्रहरीलाई नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्न आदेश दिएसँगै विप्लव स्वयम् पनि भूमिगत अबस्थामा पुगेको बुझिएको छ । ‘विप्लव’ अहिले भूमिगत अवस्थामा रहेको बुझिएको छ । प्रहरीको उच्च स्रोत भन्छः “हामीले उनका गतिविधि पनि त्यहीअनुसार निगरानीमा राखेका छौं । त्यसबाहेक उनका कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँबाट समाइरहेका छौं । अब पनि समाउछौं ।”
उक्त उच्च स्रोतका अनुसार निर्वाचन विरोधि जति पनि काम भएका छन् ती सबै विप्लवकै कार्यकर्ताले गरिरहेका छन् ।
अर्धभूमिगत अबस्थामा रहेका नेकपाका महासचिव समेत रहेका ‘विप्लव’ले अब के गर्लान भनेर सबैलाई कौतुहलको बिषय बनेको छ । ‘विप्लव’ले के गर्छन कसो गर्छन् भन्ने कुरा अब नजिकिदै गरेको पहिलो निर्वाचनमै प्रष्ट देखिने छ । देशै भरी आफ्ना नेता कार्यकर्ता पक्राउ परिरहेका तथा आफूहरले खारेजीको माग गरिरहेको निर्वाचन सरकारले गराई छाड्ने अबस्थामा पुगेपछि ‘विप्लव’लाई पनि आफ्नो अस्तित्व जोगाउन नयाँ कुनै गतिविधि देखाउनु पर्ने या खुम्चिएर बस्नु बाहेक अर्को विकल्प देखिदैन । ‘विप्लव’ भूमिगत अबस्थामा पुग्नुले सर्वसाधारणलाई भने चिन्ता थपिएको छ ।