चितवन मंसिर, ५–
पुत्रशोकमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल मंगलबार पहिलो पटक चुनावी सभामा सहभागी हुन लागेका छन् ।
विगत केही हप्तादेखि वाम गठवन्धनले देशका मुख्य १४ शहरमा चुनावी सभा आयोजना गर्दै आईरहेको छ । गत आईतबार प्रचण्ड पुत्र प्रकाशको असामयिक निधन भएपछि गठवन्धनको चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन सकेका थिएनन् । मंगलबार केन्द्रीय नेताहरूको सहभागितामा चितवनमा बृहत चुनावी सभा आयोजना गरेको छ । शक्ति प्रदर्शनसहितको आमसभा गर्ने तयारी गरेको वाम गठबन्धनले अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधनका कारण सो सभालाई श्रद्धाञ्जली सभाको रूपमा आयोजना गर्न लागिएको गठबन्धनले जनाएको छ । गठबन्धनका नेताहरुका अनुसार सो सभामा चितवनका तीनवटै निर्वाचन क्षेत्रका एमाले र नेकपा माओवादी केन्द्रका नेता, कर्याकर्ता अरु दलका प्रतिनिधि समेतको उपस्थिति रहने छ।
चितवन ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्ड सो सभामा उपस्थित रहेपनि सम्बोधन गर्ने कार्यक्रम भने राखिएको छैन। सभाको शुरुमा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मातृका यादव तगायत गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।