बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एटिएम कार्डहरुको डाटा चोरी गर्ने बुल्गेरियन पक्राउ

सोमबार, कार्तिक २७ २०७४

काठमाडौं कात्तिक,२७–
एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न एक बिदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको  छ ।  राहदानी नम्वर ३८३१७३२०० बाहक बुल्गेरियन नागरिक भिटालीय भासिलीभिच नेकिटलाई काठमाडौंको ठमेल नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट कात्तिक २४ गते प्रहरीले पक्राउ हो ।
निजलाई विभिन्न कार्ड १८ थान, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेको स्लिप ३ थान, बिद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरू ५ थान लगायतका सामाग्रीहरु सहित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

अपरिचित पुरुषले विभिन्न बैंकका एटीएमबाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम मेसिनमा स्किमर मेसिन जडान गरेको भन्ने सूचना प्राप्त भएपछि उक्त ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौंका एटीएममा गोप्य निगरानी तथा अनुसन्धान गदै जाँदा एटिएम कार्डको डाटा चोरी विदेश लैजाने तथा अनधिकृत रुपमा रकम निकाल्ने कार्यमा निजको संलग्नता रहेको खुल्न आएको प्रहरीको भनाई छ  ।
पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको व्यूरोले जनाएको छ । साथै हालसम्म उक्त ब्यूरोले विदेशी विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरेको र उनीहरुबाट नेपाली ८८ लाख ६८ हजार ८ सय ५० रुपैयाँ, अमेरिकी डलर ७३ हजार ५ सय ८०,  युरो ६४ हजार १ सय ७५ र विभिन्न एटीएम कार्ड १ हजार ३ सय २६ थान बरामद गरेको छ ।