काठमाडौं कात्तिक, १६–
प्रधानमन्त्री शेरबहादुर देउवाले गएरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम आजैदेखि पेट्रोलियम पदार्थ पुरानै मूल्यमा बिक्रि वितरण हुनेभएको छ ।
निगमले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री देउवाले आक्रोश समेत व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाको निर्दैशन लगत्तै विहीबार बिहानै मूल्य फिर्ता गर्न आयल निगमको आकस्मिक बैठक बोलाइएको छ ।
नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ ।
निगम स्रोतले प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गरिने तयारी गरेको हो ।
बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको जनाएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएका हुन् ।
लगत्तै मुख्यसचिवले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको बुझिएको छ ।
मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतले बतायो । प्रधानमन्त्रीको मूल्य बढाउने निर्देशनप्रति निगम भने असन्तुष्ट रहेको स्रोतको भनाई छ ।