बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गौचनलाई सहिद घोषणा गर्ने सरकारी तयारी, परिवारले आजै शव बुझ्ने

बिहिबार, असोज २६ २०७४

काठमाडौं असोज, २६–
गत सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनलाई सहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक भएपछि आज परिवारले शव बुझ्ने भएका छन् । 
गृहमन्त्री जनार्दन शर्माले आउदो मन्त्रिपरिषद्को बैठकमा गौचनलाई सहिद घोषणा गर्ने प्रस्ताव लैजाने आश्वासन आफूहरुले शव बुझ्न लागेको गौचनको पारिवारिक स्रोतको भनाई छ ।  

अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।
यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका छन् ।

महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने बताए । ‘महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ’, सदस्य घिमिरेले भने ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घन्टा काठमाडौंका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।