बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अनशनको सातौँ दिन : बोल्नै नसक्ने अवस्थामा प्रा.डा. केसी

बिहिबार, असोज २६ २०७४

असोज २६, काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । अनशनको छैटौँ दिनसम्म शुभेच्छुकमाझ बोलचाल गरेका केसी सातौँ दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन् । केसीको शरीरमा पानीको मात्रा कम भएपछि २४ घन्टाको अवधिमा ६ वटा स्लाइन पानी दिन थालिएको छ । सहयोगीका अनुसार उनलाई बुधबार दिउँसोबाट अत्यधिक छाती दुखेको छ । जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले केसीलाई नबोल्न सुझाब दिएका छन् ।

सरकारी वार्ता समितिले कामै थालेन

प्रा.डा. केसीका मागमा सहमति खोज्न गठन भएको सरकारी वार्ता समितिले तीन दिनसम्म काम थालेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा गठन गरेको समितिले तीन दिन बित्दा पनि सहमतिका लागि पहल गरेको छैन ।

संयोजक उपाध्यायले समिति गठन भएको जानकारी पाए पनि काम सुरु नभएको बताए । ‘शिक्षा मन्त्रालयले केसीका मागका विषयमा छलफल र गृहकार्य गरिरहेको होला,’ उनले भने, ‘केसीका मागलाई सम्बोधन गर्ने किसिमले हामी अगाडि बढ्नेछौँ ।’ चिकित्सा शिक्षा विधेयक बुधबार संसद्मा पेस हुने अवस्थामा थियो । तर, कार्यसूचीमा परेन । ‘हामीले विधेयक पेस होला भनेर बुधबार वार्ता गरेनौँ,’ शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमालले भने, ‘विधेयक पेस भएन, हामी बिहीबारबाटै केसी पक्षसँग वार्ता सुरु गर्नेछौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।