बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसको “चीन चिन्ता”

मंगलबार, असोज २४ २०७४

असोज २४, काठमाडौँ – एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी गर्दै थिए ।

उपस्थित एक नेता भन्छन्, “प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो ।” तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।

कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसँग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो । त्यसैबेला सिटौलाले देउवालाई भने, “छाडिदिनुस्, अब दाहाल कुनै पनि हालतमा फर्कने सम्भावना छैन ।”

एक नेताले सिटौलालाई उद्धृत गर्दै भने, “शान्ति प्रक्रियामा आएपछि पहिलोचोटि सार्वजनिक हुँदै गर्दा दाहालले आउँछु भनेको मितिमा आएनन् ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन चिनियाँ राजदूतलाई बोलाएर किन दाहालहरू आएनन् भन्ने जिज्ञासा राखेपछि राजदूतले म बुझ्छु भनेर फर्केका थिए । राजदूत भेटेको केही घन्टामै दाहाल सार्वजनिक हुन राजी भएका थिए ।”

कांग्रेस–माओवादी गठबन्धन बन्दा जसरी भारतले “ब्याक फोर्स” गरेको थियो, त्यसैको जवाफस्वरुप चीनले “ब्याक फोर्स” मा वामगठबन्धन बनाएको हुन सक्ने विश्लेषण ।

सिटौलाले त्यसो भनेपछि देउवा पनि चिनियाँ राजदूत बोलाउन तम्तयार देखिए । “चिनियाँ राजदूतलाई बोलाएर हुन लागेको वाम गठबन्धन रोक्न आग्रह गरौं त ?”
देउवा र सिटौलाबीचको संवाद उद्धृत गर्दै ती नेताले भने, “अब अन्तिम समयमा त्यो सम्भव छैन भन्दै सिटौला देउवालाई सम्झाउँदै थिए ।”

वाम गठबन्धनबारे बालुवाटारको त्यो बुझाइ यतिबेला आम भइसकेको छ । सञ्चारमाध्यमदेखि विज्ञहरू यो गठबन्धनका पछाडि “चिनियाँ प्रभाव” रहेको विश्लेषण गरिरहेका छन् । तर, चीन त्यो आरोप स्विकार्न तयार छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चिनियाँ राजदूत यु होङले शनिबार आफूसँगको भेटमा वाम गठबन्धनमा आफूहरूको कुनै भूमिका नभएको बताएकी थिइन् ।

पौडेलले भने, “मैले राजदूत होङलाई किन चिनियाँ पक्षले वाम एकतामा भूमिका खेलेको भनेर प्रश्न गरेको थिएँ तर उहाँले त्यस्तो केही होइन । मिडियाले उचालेको मात्रै हो भन्नुभयो ।” यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।