काठमाडौं भदौ ३०–
तेस्रो चरणमा हुन लागेको प्रदेश २ को स्थानीय निर्वाचनको चुनावी प्रचार प्रसारको आज अन्तिम दिन हो । निर्वाचन परिणाम आफ्नो हातमा पार्न विभिन्न दलहरु आज अन्तिम दिन पनि चुनावी गतिविधिमा व्यस्त रहेका छन् । आज राति १२ बजेबाट मौन अवधि सुरु हुनेभएपछि मौनअवधि अघि दलहरु चुनावी प्रचार प्रसारका लागि निकै सक्रिय देखिएका छन् । आजै राति १२ बजेबाट निर्वाचनको मौनवधि सुरु हुने भएकाले राजनीतिक दलहरुले आजै सवै जिल्लाका चुनावी कार्यक्रम भ्याउन लागेका हुन् । २ नम्बर प्रदेशलाई प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकाले पनि सो प्रदेशमा दलहरुको सक्रियता धेरै बढेको छ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन हुन लागेको हो ।
स्थानीय तह तेस्रो चरणको निर्वाचनको चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन सवैजसो राजनीतिक दल र तिनका नेताहरु २ नम्बर प्रदेशका चुनावी सभामा सहभागि भएर आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आव्हान गर्दैछन् । त्यसका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेता लगायत अन्य नेताहरु २ नम्बर प्रदेश केन्द्रीत चुनावी कार्यक्रममा आज दिनभर व्यस्त बन्ने भएका छन् ।
आज प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली, राजपा नेपालका अध्यक्ष मण्डलका नेताहरु फोरम नेपाल तथा लोकतान्त्रिक फोरम नेपालका नेताहरुले मधेसका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने तयारीमा रहेका छन् ।
कांग्रेस कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस सभापति देउवाले प्रदेश नम्बर २ अन्तर्गतको एकमात्र महानगर वीरगञ्जमा अपरान्ह २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । त्यसअघि देउवाले आजै बाराको कलैया नगरपालिकामा हुने अर्को चुनावी सभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्लाहीको लालबन्दी र वीरगञ्जमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । त्यसैगरी एमाले प्रचरविभाग उपप्रमुख सुर्य थापाका अनुसार एमाले अध्यक्ष केपी ओलीले बाराको सिमरा–जितपुर उपमहानगर र महोत्तरीको बर्दिबासमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।
त्यस्तै, लामो समयदेखि मधेसमा सक्रिय रहेका एमालेका नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतले पनि आज तराईका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागि हुने एमालेले जनाएको छ । एमाले अध्यक्ष ओली भने प्रचारप्रसारको अन्तिम दिन मात्र मधेस झर्ने भएका हुन् ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन दिन मधेश केन्द्रित दलका नेताले पनि विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । राष्ट्रिय जनता पार्टीका शिर्ष नेताले सर्लाही, जनकपुर सप्तरी लगायतका २ नम्बर प्रदेशका ८ जिल्लामा हुने सभाको तयारीमा लागेका छन् । मधेसकै अर्को पार्टी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि आज सिरहाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेताहरुले बताएका छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सिरहा, धनुषा र सर्लाहीका चुनावी सभामा सहभागि हुने छन् ।