काठमाडौं भदौ, २८–
करिब दुई महिना अघिदेखि रातीको समयमा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चौबीसै घण्टा खुला हुने भएको छ ।
उक्त सडक खण्ड निर्माणको जिम्मेवारी पाएको आयोजनाका अनुसार दसैँ, तिहार, प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि चौबीसै घण्टा सडक सञ्चालनमा ल्याउन लागिएको हो ।
यसअघि मुग्लिनतर्फबाट आउने सवारीलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चाडपर्वलाई ध्यानमा राखेर रातको समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको जानकारी गराए । मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई सवारीलाई प्राथमिकताका राखेर पार गराइने उनको भनाई छ ।
यात्रुवाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरीको जंगलमा र नारायणगढतर्फ आउनेलाई कुरिन्टारनजिकै लेबाटारमा रोकिने ब्यवस्था मिलाईएको छ ।
चाडपर्वको अवधीमा सडकमा खाल्डाखुल्डी पुर्ने, पानी छर्कने, निर्माण समाग्रीका कारण सडक अवरोध नगर्ने गरी तयारी भैरहेको बताईएको छ ।