बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नुवाकोट कांग्रेस सभापति केसीलाई अन्तरघातको आरोप

बुधबार, भाद्र २८ २०७४

नुवाकोट भदौ, २८–
नुवाकोट कांग्रेसका सभापति  जगदीश्वरनरसिंह केसीलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।    बेलकोटगढी नगरपालिकाका नेपाली कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले सभापति केसीलाई कारवाहीको माग गर्दै पत्र बुझाएका हुन्  ।  वैशाख ३१ गते भएको स्थानीय तह  निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापति केसी सहित अन्य नेतालाई पनि  कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाईएको हो ।  
बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितको टोलीले  जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । जिल्ला सभापति केसीसहित कारवाहीको लागि सिफारिस गरिएकाहरुमा जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहाल रहेका छन् । उनीहरु सबैलाई  अन्तरघात गरेको आरोप लगाइएको छ । 
यस्तै, पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ । 
उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम रहेको  छ । 
तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यका अनुसार  जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको हो । 
पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए ।  कारवाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् ।