काठमाडौं भदौ २३–
नेपाली चलचित्र ‘२ रुपैयाँ’ आजबाट रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा उच्च शोका साथ रिलिज भएको यो चलचित्रले व्यापारमा पनि नयाँ रेकर्ड राख्ने आकलन गरिएको छ । असिम शाहको निर्देशनमा तयार चलचित्र ‘२ रुपैयाँ’ प्रदर्शनमा आउनु अगावैबाट चर्चा परिचर्चा भएको चलचित्र हो । चलचित्र निर्देशनमा छुट्टै पहिचान बनाउन सफल निर्देशक निश्चल बस्नेतले अभिनय गरेको चलचित्र भएकाले पनि यो चलचित्रको धेरै चर्चा भएको हो । त्यति मात्र होईन चलचित्र ‘२ रुपैयाँ’मा समाबेश गरिएको ‘कुटुमा कुटु’ बोलको गीतको कारणले पनि चलचित्र थप चर्चामा आएको हो । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । उक्त गीतका कारण पनि चलचित्रलाइ फाइदा पुग्ने निर्माण युनिटले विश्वास लिएको छ । यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा ‘२ रुपैयाँ’का लागि हुने ग्याङ फाइटको कथालार्इ निर्देशकले कमेडी शैलीमा उतार्ने प्रयास गरेका छन् ।