कञ्चनपुर भदौ, २३–
कञ्चनपुरमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला पुल नजिकै भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट भारतको बनवासामा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारीहरु जगतसिंह चौहान र चन्द्र किशोर सिंह घाइते भएका छन् ।
बिहीबार राति करिब १० बजे चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली लागेको हो । घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीका अनुसार महेन्द्रनगरबाट क्यासिनो खेलेर घर फर्किरहेका भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको हो । मोटरसाइकलमा चढेर घर फर्कदै गरेका दुवै भारतीय नागरिकलाई पछाडिबाट पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीले भुजेलाका विक्रम नाथ र करण भण्डारीलाई गोली प्रहार गरेको आरेपमा पक्राउ गरिसकेको छ । उनीहरु दुबैजना बन्दुकसहित पक्राउ परेका छन् । प्हरीले क्यासिनोबाट फर्किरहेका हुनाले रकम लुट्नका लागि उनीहरुले गोली प्रहार आशंका गरेको छ।