बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आइजिपी अर्यालको निरिहताले प्रहरीमा सुपको एकछत्र

सोमबार, भाद्र १२ २०७४

काठमाडौं भदौ, १२–
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अडान लिन नसक्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीदेखि उपत्यकाका दुई ओटा परिसर र अन्य महत्वपूर्ण ठाउँमा सुदूरपश्चिम (सुप) गृह क्षेत्र भएका प्रहरी अधिकारीहरु हाबी भएका छन् ।
 प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम घर भएका प्रहरी अधिकारीहरुलाई महत्वपूर्ण ठाउँमा सरुवा र पदस्थापन गर्न दिएको दबाबलाई प्रहरी महानिरीक्षक अर्यालले अक्षरसः पालना गर्दा काबिल अधिकृतहरु भने मारमा परेका छन् । उनीहरु हालको सरुवा र पदस्थापनमा रुष्ट बनेका छन् । गृह मन्त्रालय माओवादीको भागमा परेको भएपनि प्रहरी सरुवा र पदस्थापनमा माओवादी पनि निरीह देखिएको छ । 
सरकारले आइतबार राति प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मको सरुवा र पदस्थापन गरेको थियो । सोही सरुवा र पदस्थापनको सूची हेर्दा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाहेक अन्य क्षेत्रका प्रहरी अधिकारीहरुलाई पूरै ‘माइनस’ गरेको देखिन्छ । विशेषगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं प्रहरी परिसरमा कसलाई पठाउने भन्नेमा सत्तासाझेदार दल कांग्रेस र माओवादीबीच पनि चर्काे विवाद रहेको थियो । प्रधानमन्त्री देउवा वरिष्ठताका आधारमा दोस्रो नम्बरमा एआईजीमा बढुवा भएका जयबहादुर चन्द (आईजीपीमा नियुक्त भएपनि सर्वाेच्च अदालतको आदेशपछि बदर गरिएका) लाई र माओवादी पहिलो नम्बरमा बढुवा भएका बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालयमा लैजान चाहन्थ्यो ।
 तर, अन्ततः प्रधानमन्त्री देउवाकै जित भयो । चन्द महानगरीय प्रहरी प्रमुख बनाइए भने भण्डारी अपराध अनुसन्धान विभागमा धकेलिए । एआईजी चन्द बैतडीका बासिन्दा हुन् । एआईजी चन्द कार्यक्षमताका हिसावले काविल अधिकृत मानिदैनन् । सुदूरपश्चिमवासी भएकै कारण उनले एआईजीका लागि सबैभन्दा राम्रो मानिने महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाएका छन् । 
उनी डीआईजी हुँदा पनि तेस्रो वरीयतामा थिए । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण देउवाकै चर्काे दबाबमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल उनलाई आईजीपी नियुक्त गर्न बाध्य भएका थिए । त्यसबेला सरकारको यो कार्यको चर्काे विरोध भएको थियो भने यसप्रति असन्तुष्टि जनाउँदै पहिलो वरीयताका डीआईजी नवराज सिलवाल सर्वाेच्च अदालत गएका थिए । डीआईजी सिलवालले रिट दायर गरेपछि चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय सर्वाेच्चले खारेज गरेको थियो । 
प्रधानमन्त्री देउवाकै आशिर्वादका कारण बैतडी निवासी एसएसपी रवीन्द्र धानुक काठमाडौं प्रहरी परिसरको प्रमुख बन्न सफल भएका छन् । एसएसपीका लागि सबैभन्दा राम्रो, आफ्नो क्षमता देखाउन सक्ने, राजनीतिक वृत्तमा पनि चिनाउन मद्धत पु¥याउने ठाउँ काठमाडौं प्रहरी परिसर हो । 
धानुक काठमाडौं प्रहरी प्रमुख बन्न सफल भएपनि उनलाई काबिल अधिकृतका रुपमा लिइँदैन । उनी एसएसपी बढुवा सूचीमा पनि सबैभन्दा पुछारमा रहेका थिए । धानुक काठमाडौं प्रहरी प्रमुख बन्दा अन्य सक्षम प्रहरी अधिृकतको भने लाजले शिर निहुरिएको छ ।
 रुपन्देही जिल्लामा रहँदा शान्ति सुरक्षा बहाल गर्न नसकेको भन्दै उनको चर्काे आलोचना भएको थियो । यद्यपि, उनलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्री जनार्दन शर्माको पनि महत्वपूर्ण हात रहेको बताइन्छ । उनको प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मासँग राम्रो सम्बन्ध छ । 
रुकुमको प्रहरी प्रमुख (डीएसपी) हुँदादेखि नै एसएसपी धानुक र हालका गृहमन्त्री शर्माको सम्बन्ध धेरै नै राम्रो भएको जानकारहरु बताउँछन् । धानुकमाथि रुकुमको डीएसपी हुँदा माओवादीलाई सघाएको आरोप छ । त्यस्तै, ललितपुर प्रहरी प्रमुखमा पदस्थापन गरिएका एसएसपी गणेशबहादुर ऐर प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा निवासी हुन् । 
प्रहरीभित्र उनलाई सक्षम अधिकारीका रुपमा कहिले पनि हेरिएन । असक्षमताकै कारण उनी शान्ति मिसनमा पनि कहिले पनि जान सकेनन् । प्रहरीमा शान्ति मिसनलाई अत्यन्तै राम्रो अवसरका रुपमा लिइन्छ । शान्ति मिसनमा जाने अधिकृतलाई सक्षम अधिकृतका रुपमा पनि हेर्ने गरिन्छ । उनको दुई जना श्रीमती रहेको बताइन्छ । 
भन्नेहरु प्रहरी सेवामा प्रवेश गर्न आवश्यक उचाई ५ दसमलव २ पनि उनीसँग नभएको दाबी गर्छन् । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण उनले फाइदा भने लिनुसम्म लिएका छन् । उनी प्रहरी निरीक्षक हुँदा तत्कालीन वडा प्रहरी कार्यालय सिंहदरबार र नयाँबानेश्वर, डीएसपी भएपछि नयाँ बानेश्वर वृत्त बसिसकेका छन् । 
उनी आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न पछि नपर्ने अधिकृतका रुपमा चिनिन्छन् । साथै उनी चाकडी र चाप्लुसीमा माहिर छन् । उनी सञ्चारकर्मीलाई पैसा दिएर आफ्नो अनुकुल समाचार लेखाउन पनि पछि पर्दैनन् ।काठमाडौं परिसरका प्रमुख धानुक मात्र होइन, उनका ट्वाइसी एसपी रामदत्त जोशी पनि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन् । यस्तै, महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी पूर्णचन्द्र जोशी पनि डोटीका हुन् । ललितपुर परिसरका एसपी देवेन्द्र बोगटी पनि डोटीकै हुन् । 
यस्तै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एसपी राजेन्द्रप्रसाद भट्ट पनि सुदूरपश्चिमकै हुन् ।यति मात्र होइन, काठमाडौंका वृत्त कार्यालयहरुमा पनि सुदूरपश्चिमकै डीएसपी र इन्सपेक्टरको हालीमुहाली छ । लेखा शाखाका प्रमुखहरुमा पनि सुदूरपश्चिमकै बढी छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।