काठमाडौं भदौ, १–
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन विधेयक प्रस्ताव अघि बढाउन एमाले सहमत भएको बताएका छन् । त्यसैले, पूर्वप्रधान्त्री दाहालले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी समेत गरेका छन् । बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भदौ ५ गते संविधान संशोधन विधेयक पारित हुने प्रष्ट पारेका हुन् । एमालेले प्रतिवद्धता जनाएकाले र राप्रपा समेत संसोधनमा सकारात्मक देखिएकाले संविधान संशोधन विधेयक भदौ ५ गते पास हुने प्रचण्डको दाबी छ ।
मधेसवादी दलले लामो समयदेखि संविधान संसोधनको माग राख्दै आन्दोलन गर्दै आएका छन् । तर, व्यवस्थापिका संसद्को गणितका कारण संविधान संसोधनको उनीहरुको माग पूरा हुन सकेको छैन ।
मधेसकेन्द्रित दलको संविधान संशोधनको माग पूरा गराउन लागिपरेको सरकारले पुनः यसलाई अघि बढाउन लागेको छ ।
फरक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा हुने बताएका छन् । राजनीतिक दलहरुबीच एकै पटक दुवै निर्वाचन गर्ने सहमति बनिसकेको प्रचण्डले खुलासा समेत गरेका छन् ।
बाढीपीडितको अवस्था बुझ्न अध्यक्ष प्रचण्ड केहि दिनदेखि तराईमा रहेका छन् ।