काठमाडौं साउन, १९–
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलुदमा राजनीति भएको स्वीकार गरेका छन् । करिब हप्ता दिन पहिले मात्र मन्त्री भएका मन्त्री केसीले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने प्रष्ट पारे । उनले भने, ‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी समेत गरे ।
उक्त कार्यक्रममा मन्त्री केसीले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं ।’
नेपालगञ्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको मन्त्री केसीको भनाई छ । हाल काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला मर्मत सम्भार भइरहेको छ ।
आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने खेलकुदमन्त्री केसीको भनाई छ । उनले भने, ‘खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।’