काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा सत्तारुढ दलहरुबीच बेमेल सुरू भएको छ ।
सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमाले सरकार गठनको बेला पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन ।
पूर्वसहमति कार्यान्वयन नभए वर्तमान सात दलीय गठबन्धन भंग हुने एमालेले चेतावनी दिइरहेको छ ।
दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यशक्तिका सबै पद गुमाएको कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्ताको केन्द्रमा फर्कने प्रयासमा छ ।
२५ फागुनमा हुने निर्वाचनसँगै अहिलेको राजनीतिक कोर्स परिवर्तन संकेत देखिन थालेका छन्। पुस १० गते प्रधानमन्त्रीमा अढाई–अढाई बर्ष र सभामुख र राष्ट्रपति एमालेले पाउने सहमतिबीच भएको सहमतिमा माओवादीले राष्ट्रिय सहमति भन्दै अर्घेलो झिकेपछि एमाले सशंकित बनेको छ ।
सत्तारुढ दल एमाले र माओवादीबीच राष्ट्रपति कसलाई बनाउने भन्नेमा विमति देखिएको छ । एमाले पुरानै सहमति अनुसार अघि बढ्नुपर्ने अडानमा छ । दुई दलकोबीचको आआफ्नो अडानका कारण राष्ट्रपति निर्वाचन पेचिलो बन्ने भएको छ ।
राष्ट्रपतिका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीदेखि डोरमणि पौडेललगायतको नाम चर्चामा छ। पोखरेल दुई–दुई पटक एमालेका महासचिव भएका व्यक्ति हुन् ।
नेम्बाङको नाम निर्वाचन यता नै राष्ट्रपतिका लागि चर्चामा छ। उनी इलाम २ वटा निर्वाचित सांसद हुन्। उनी संविधानसभाका अध्यक्ष र सभामुख भइसकेका व्यक्ति हुन्। शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री हुन्। योपटक शाक्य कहीँबाट चुनाव लडिनन्। यस्तै एमाले अध्यक्ष ज्ञवालीको नाम पनि चर्चामा छ।
अध्यक्ष ओलीले यी माथिकामध्ये जस पनि उम्मेदवारका रूपमा प्रस्तुत गर्न सक्छन्।
राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने ओलीले नै बताउँदै आएका छन्। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले विराटनगरमा भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’
त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतको नाम चर्चामा छन्। राष्ट्रपतिको अभिलासामा नै पौडेल देउवानजिक भएका हुन्। अघिल्लो पाँचदलीय गठबन्धनको नेतृत्व गरेको हिसाबले उनको दाबीलाई त्यही बेलादेखि स्वभाविक रूपमा हेरिँदै आएको हो।
यसैबीच यतिबेला कांग्रेस राष्ट्रपतिमा आफ्नो तर्फको उम्मेवारीमा धेरैभन्दा धेरै दलको सहमति जुटाउन लागि परेको छ । कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दिनहुँजसा भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए। उनीहरुलाई प्रचण्डले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारको पक्षमा सहमति जुटाउन प्रायः सबै दलसँग छलफल भइरहेको बताएका छन् । ‘कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । माओवादी पनि यसमा सकारात्मक नै छ,’ उनले भने ।
नेताहरूका अनुसार माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थनसँगै प्रधानमन्त्रीमा प्रचण्डको पूर्ण कार्यकालको प्रतिबद्धता चाहेको छ । कांग्रेसले पनि माओवादीले राष्ट्रपतिमा सघाए प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउन सकारात्मक रहेको संकेत दिएको छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ ।