बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युद्धमा प्रभावित मानिसका लागि सरकारले कुनै पनि काम गर्न सकेन

आइतबार, फाल्गुन ७ २०७९

काठमाडौँ – सभामुख देवराज घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मानिसका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको बताएका छन् ।आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानुन बनाउनेतर्फ संसद्को ध्यान जान नसकेको टिप्पणी गरेका छन् ।

देशमा धेरै ऐन, कानुनहरू बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उनले बताए । उनले बनेका ऐनहरूको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको उल्लेख गरे ।

उनले सरकारले संसद्लाई उचित ढंगले नहेरेको पनि बताएका छन् । सभामुख घिमिरेले कतिपय कुरा न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए । कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने, ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मानिसका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको बताए । त्यस्तै संसदमा पनि ती विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने बताए । उनले संसद्लाई जनताको आकांक्षा अभिव्यक्ति गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीतिक दल र सांसदलाई जनताप्रति उत्तरदायी बनाएर संसद् चलाउने बताए । संसदले पूर्ण रूपमा जनताप्रति जवाफदेही भएर काम गर्ने उनको भनाइ छ ।