बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक तथा वित्तीय संस्थाहरुविरुद्व व्यापारी आए सडकमा

शनिबार, फाल्गुन ६ २०७९

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ ।

उनीहरुले सहुलियत कर्जाको सीमा बढाउ, बैकिङ आतंक बन्द गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ व्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उनले आफूहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उद्योगी व्यवसायीहरूका नौ वटा महासंघ र ३८ वटा संघले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।