काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई/दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुन् । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन् । उनले प्रधानमन्त्री प्रचण्डसँग गरेको दोस्रो पटकको भेट अर्थपूर्ण रुपमा हेरिएको छ । नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा समेत यो भेटको उद्धेस्य हुनसक्ने अनुमान गरिन थालेको छ । यसैगरी चुनावपछि बनेको सत्ता गठबन्धन भत्किने अडकलबाजी भइरहेका बेला भारतीय सचिवको नेपालका नेता भेट्ने म्याराथन दौडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिममा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई वालुवाटारले गोप्य राखेको छ ।
राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दल बिच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला बिदेश सचिव क्वात्राले संघीय संसदका ठूला देखि साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।
सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन् ।