बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चौरी द्यौरालीमा कस्ले मार्ला वाजी ?

शुक्रबार, बैशाख २२ २०७४

काभ्रे, २२ वैशाख ।

चौरी द्यौराली गाउँपालिकालाई यतिखेर स्थानीय तहको निर्वाचनले छपक्कै पारेको छ । यो गाउँपालिकामा हुने त्रिपक्षिय भिडन्त निक्कै रोचक मानिएको छ ।

 
मुख्यरूपमा ठूला तीन दलकै उम्मेवारबीच चुनावी भिडन्तले सिंगो गाउँपालिकाको वातावरण चुनावमय भएको छ । घर, मेलापात, चिया पसलमा पनि निर्वाचनका बहसले स्थान पाउन थालेका छन् । मेलापात र चिया पसलमा हुने बहसले त्रिपक्षिय भिडन्तको स्थिती देखाए पनि कांग्रेस उम्मेदवार विक्रम गौतमको विस्तारै पल्ला भारी हुँदै गएको स्थानीय वताउँछन् । 

विक्रम कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी हुन् । विक्रम खान्दानी कांग्रेस भएकाले पनि उनको उम्मेवारीमा पार्टीमा रत्तिभर विमति नरहेको बताइन्छ । यस्तो हुनुमा उनका स्व. पिताको योगदान महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । उनको पिता कृष्णप्रसादलाई माओवादीले हत्या गरेका हुन् । 

विक्रम भन्छन् ‘१६ असोज २०५४ को दशैंको घटस्थापनाको त्यो कालो दिन हामी कहिल्यै विर्सन्नौ ।’ दशैं सुरु भएको पहिलो दिन परिवारैसंगै बसेर खाना खाँदै गर्दा एक हुल माओवादी आएर बुवालाई घर वाहिर निकाली आँगनमै गोली हानेर हत्या गरेको विक्रमले बताए । त्यसपछि डरले परिवारै विस्थापितजस्तै भयो । तर, आउने जाने क्रम चैं चलिरह्यो । 

हत्या हुँदा कृष्णप्रसाद महासमिति सदस्य थिए । गाउँमा समाजसेवीका रूपमा परिचय बनाएका कृष्णप्रसाद पञ्चायतमा प्रधानपञ्च हुँदा पनि राम्रो काम गरेर गाउँलेका आँखामा नविझ्ने भएका थिए । यही नाम तत्कालिन छापामार माओवादीलाई चाँही सह्य भएन । 
सोही बेलादेखि छोरा विक्रम राजनीतिमा हाम फालेको बताइन्छ । नेविसंघको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका विक्रम अहिले कांग्रेसको काभ्रे –काठमाडौं सम्पर्क समितिको सदस्य छन् । यसअघि उनी कांग्रेस जिल्ला कार्य समितिको सदस्य थिए । 
विक्रमको पल्लाभारी हुनुको अर्को कारण सांसद् तिर्थ लामा पनि हुन् । दोश्रो संविधान सभामा सो क्षेत्रबाट निर्वाचित सांसद् लामा लोकप्रिय मानिन्छन् । आफ्नो गाउँ ठाउँको विकासप्रतिको उनको लगनशिलताले उनलाई नेताभन्दा समाजसेवीका रूपमा दर्याएको छ । विक्रम सांसद लामाका प्रियपात्र मानिन्छन् यसले पनि विक्रमलाई लामाको लोकप्रियताको लाभ मिल्ने बताइन्छ । 

विक्रमका प्रतिष्पर्धी माओवादी उम्मेदवार दीनानाथ गौतम हुन् । व्यक्तिगतरूपमा दीनानाथको त्यस्तो खरावी केही नभए पनि उनको पार्टी सो गाउँपालिकामा कमजोर रहेको मानिन्छ । समाजसेवीकै छवि बनाएका दीनानाथको पार्टी माओवादी पहिले सशक्त भए पनि अहिले कार्यकर्ताहरू नयाँ शक्ति, बैद्य र विप्लवमा विभाजन भई छिन्नभिन्न भएकाले कमजोर भएको बताइएको छ । पार्टीको संगठनभन्दा व्यक्तिगत छविकै कारण उनी प्रतिष्पर्धामा आए पनि जित्ने आधार भने कमजोर नै मानिएको हो । 

सो गाउँपालिकाका अध्यक्षका अर्का प्रतिष्पर्धी एमालेका लेखराज गौतम हुन् । पेशाले कानुन व्यवसायी लेखराजको राजनीतिमा लामो र संघर्षशील इतिहास छ । कानुनका ज्ञाता, राजनीतिक इतिहास, संघर्षशील व्यक्तित्वका कारण लेखराज अब्बल देखिए पनि स्थानीय जनतामा उनी त्यति भिजेका छैनन् । स्थानीय विकास, निर्माणलगायतका मामलामा उनको सहभागिता कमै रहेको बताइन्छ । यसलाई उनले कसरी चिर्ने हुन् त्यसमै उनको जित, हार निहित रहेको वताइन्छ । 

दशैंको घटस्थापनाका दिन पिताको हत्या भयो । हत्याको कारण कांग्रेसको सदस्य हुनु र गाउँमा राम्रो काम गर्नु थियो । यो गाउँपालिकाका सबैलाई यसबारे राम्रो जानकारी भएकाले सबैको माया, स्नेह र सहानुभूति पाउँदै आएको विक्रम बताउँछन् । आफैंले पनि बाटो, कुलो, पुलेसो निर्माणमा सकृयता जनाएर विश्वास जितेकाले  आफू जित्नेमा ढुक्क रहेको विक्रम बताउँछन् ।