काठमाडौं । बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ ।
यता क्यानले निलम्बन फुकुवा गरेकै दिन महान्यायाधिवक्ता कार्यालयले भने उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयविरुद्व सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ ।
लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको हो । सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए ।
मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको छ ।
गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।