काठमाडौं । स्पेनिस महारथी बार्सिलोना र रियाल मड्रिडकाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन्।
उनीहरु कासेरेन्यो फुटबल क्लवको टोलीसँगै नेपाल आउने भएका हुन् ।
१३ पुसमा गण्डकी ११ र १४ पुसमा काठमाडौं ११ बिरुद्ध मैत्रीपूर्ण खेल खेल्न रुबेन डे ला रेड र सालिनास मंगलवार ९ः३० बजे नेपाल आइपुग्नेछन् । ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलमा सहभागी जनाउन उनीहरु नेपाल आउन लागेका हुन् । स्पेनिस टोलीसँग खेल्ने गण्डकी–११ टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ ।
त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले काठमाडौं–११ को कप्तानी गर्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्नेछन् ।