बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप

शुक्रबार, पुष १ २०७९

काठमाडौँ : महोत्तरीको रामगोपालपुर –५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको प्रदर्शनमा झडप भएको हो ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथि थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई  नियन्त्रणमा लिएर प्रदर्शन मत्थर पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गरेकी हुन् ।