आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सरकार गठनबारे कसैले कतै बार्गेनिङका लागि एमाले देखाएर हल्ला फिँजाए : विष्णु पौडेल

शुक्रबार, मंसिर २३ २०७९

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

एमाले उपाध्यक्ष समेत रहेका पाैडेलले आफ्नो पार्टी सशक्त प्रतिपक्षमा बस्न तयार भएको बताउँदै भने, “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उनले भने। 

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए ।

एमालेले कुनै अदृश्य शक्तिसँग सरकार गठनका विषयमा छलफल नगरेको बताउँदै उनले कसैले कतै बार्गेनिङका लागि यस्ता कुरा बाहिर ल्याएको हुनसक्ने बताए ।

सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु  र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे ।

“जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उनले भने ।