आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सत्ता समीकरण मिलाएर कार्यकारी पद हत्याउने मुडमा प्रचण्ड

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दल समेटेर सत्ताको बागडोर सम्हाल्न पहल थालेका छन् ।

चुनावमा पार्टीले सोचे अनुरुपको नतिजा हासिल नगरेपनि प्रचण्ड कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीलाई आधार बनाउँदै आफूले सरकारको नेतृत्व गर्ने धाउन्नमा छन् । 
प्रचण्डले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग आगामी सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रस्ताव राखिसकेका छन् । उनी पक्षका नेताहरुले पनि जसको नीति उसकै नेतृत्व भन्दै लबिङ सुरु गरेका छन् ।

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको छ ।

नयाँ सरकार गठनका लागि माओवादी अध्यक्ष प्रचण्डको मुड बुझ्न खुमलटार पुगेका कांग्रेस नेता सिटौलासँग प्रचण्डले कांग्रेसको आन्तरिक बेमेलको विषयमा पनि चासो राखेका थिए । उनले कांग्रेस भित्रको आन्तरिक किचलो चिर्न पहिलो चरणमा सरकारको नेतृत्व आफूले गर्दा गठबन्धन पनि जोगिने र कांग्रेस भित्रको किचलो पनि मथ्थर हुनसक्ने धारणा राखेका थिए ।

प्रचण्ड र सिटौलाबीच एक घन्टा बढी छलफल भएको थियो । उनहरुबीच सरकार गठनलगायत अन्य समसमायिक विषयमा पनि छलफल भएको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम नआएपनि प्रचण्ड सरकारको नेतृत्व गर्न शक्ति निर्माण गर्ने अभियानमा जुटेको स्रोतको दाबी छ ।

प्रचण्डले विहीबार नै स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहसँग पनि भेटवार्ता गरेका थिए ।

प्रचण्ड साना दलहरूलाई एकीकृत गरेर शक्ति निर्माण गर्ने र कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्ने सोँचमा रहेको उनी निकट नेताहरुले बताउन थालेका छन् ।  हिजो मात्र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलसँग गठबन्धन र सहकार्य हुने बताएका थिए ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचन अगाडिको सहकार्य नेपाली कांग्रेससँग भएपनि उसमा इन्मारदारिता नभएको निर्वाचनले देखाएकाले अब नयाँ शिराबाट कार्य थालनी गर्नुपर्ने उनले बताएका थिए ।

कांग्रेसको संसदीय दलको नेता को हुने भन्ने नतिजा पर्खेर बसेको माओवादी केन्द्रले संसदीय दलको नेता शेरबहादुर देउवा नभएर अरुनै भए सरकारको नेतृत्वमा प्रचण्डको दाबी रहने मुडमा उनी रहेको माओवादीकै नेताहरुले बताएका छन् । देउवापक्ष पनि यसमा लचिलो हुने संकेत माओवादीले देखेको छ ।

केही दिनअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । चौधरीलाई जेलमै गएर उनले भेटेका हुन् ।