बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपाभित्र समानुपातिक सांसद चयनको चलखेलविरुद्ध खवरदारी

बिहिबार, मंसिर २२ २०७९

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै खवरदारी सुरु भएको छ । 

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै  सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन् ।

आज फेसबुकमा लाइभ बस्दै थापाले अन्तिम चरणमा अलिकति पनि लतमाथि नहोस् भन्दै खवरदारी गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयबाट बोल्दै उनले जनमतलाई हेर्दा पार्टी सरकारमा जान नहुने अभिमत पाएको थापाले बताए ।

साथै लाइभ मार्फत उनले पार्टी अध्यक्ष रवि लामिछानेमाथि धावा बोल्नेलाई सम्पूर्ण जिल्लाका समर्थकले खवरदारी गर्नुपर्ने बताए । हरेकले हरेक  ठाउँ र क्षेत्रबाट खवरदारी गर्नुपर्ने बताउँदै थापाले पार्टी सभापतिविरुद्ध बोल्नेमाथि आफूले अगुवाई गर्नेसमेत बताए ।

थापाले डिजिटल डेमोक्रेसीमा आफ्नो पार्टीले यस अभियानको सुरुवात गरेको बताए ।

यसअघि थापाले स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्नुपने बताएका थिए । 

थापाले लेखेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा थप १३ सिट प्राप्त गर्नेछ ।

समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति र खस आर्यबाट ३र३ जना, दलित र मधेशीबाट २र२ जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

१३ जना सांसद छान्दा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर त्यसलाई ख्याल नगरिएको कतिपयको गुनासो सुनिन थालेकाे छ ।