काठमाडौं । आज उधौली पर्व, धान्य पुर्णिमा, तमु ल्होसार, योमरी पुन्हि र ज्यापु दिवस जस्ता पर्वरहेका छन् । आज धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आआफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ ।
यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।
मंसिर शुक्ल पूर्णिमाको दिन किराँत समुदायले उधौली पर्व मनाउँने गर्छन् । यो पर्व किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा मनाउने गर्छन् । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।
आज योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व मनाइँदैछ । नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदैछन । योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा चलि आएको छ । लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।
आज तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछार मनाइँदै छ । बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ । तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ ।