बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुख्यमन्त्री कार्यालय सारिएसँगै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सपथ खुवाउने तयारी

मंगलबार, मंसिर २० २०७९

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ ।

यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ ।

स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु दाङ ल्याइएकाे  हो ।

स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ ल्याइएकाे हाे ।

दाङको  राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास गृह निर्माण गरिएको छ । 

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालयले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । उनले यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखानियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको जानकारी दिए ।

नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सपथ खुवाउनेसमेत तयारी गरिएको छ । प्रदेशसभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती  गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा  अर्घाखाँचीको शीतगङ्गा  नगरपालिका–८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको  थियो । विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका – ५ स्थित राप्ती प्राविधिक  शिक्षालय १६  बिघा क्षेत्रफलमा  फैलिएको छ ।