बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सोमबार, मंसिर १९ २०७९

काठमाडौं- रूपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडस्थित सडकमा लु.२ त ६१८५  नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडीको चक्काले किच्दा गम्भीर घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दरखसवा सिता नर्सरीस्थित सडकमा बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु.८९ प २९८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी हुन्दुरखोलास्थित सडकमा पकरबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.१ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने ७० वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका–१ महादेवास्थित सडकमा प्र.३–०२–०१३ प ८३६४ नम्बरको मोटरसाइकललाई को.१ ख ६९८२ नम्बरको ट्याङकरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी रुपनी गाउँपालिका–३ कटैया बस्ने १४ वर्षीय उज्वल कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका–१ काउलीस्थित सडकमा क.प्र.०२००१ त ०२४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सह–चालक सोही गाउँपालिका–२ ध्यारगाउँ बस्ने १८ वर्षीय राजेश गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।