आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

आइतबार, मंसिर १८ २०७९

काठमाडौं- काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनारगन १ सय ९० एम्पुल, नुर्फिन १ सय ९० एम्पुल, नाईट्राजेपाम ट्याब्लेट २ पत्ता र नगद ११ हजार ५ सय ३० रूपैयाँ गएराति प्रहरीले बरामद गरेको  छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७७ प ७४९८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरुले मोटरसाइकल र झोला छोडी फरार भएपछि झोला जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–५ गुरुवागाउँ बस्ने ३१ वर्षीय चेतराम अहिरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.४ प ९५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अहिरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

रौतहटको गौर नगरपालिका–३ दाल मिलस्थित फलक पोल्ट्री फर्म नामक कुखुरा फर्मबाट १ सय ८० केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर थाहा नगरपालिका–३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त कुखरा फर्मभित्र लागूऔषध गाँजा राखेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले तलासी गर्दा कुखुरा फर्मभित्र उक्त परिमाणको लागूऔषध फेला पारेको थियो । साथै सोही स्थानमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०१–००६–ख २८३० नम्बरको मिनि ट्रक समेत फेला परेकोले ट्रक चालक सुरेन्द्र स्याङताङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ट्रकमा उक्त लागूऔषध ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ पत्रास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना.२३ प ८७८३ र प्र.३–०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुले मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

पर्सा, संखुवा प्रसौनी गाउँपालिका–२ नौवगछियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय एकटांगाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले झोला फाली मोटरसाइकल सहित फरार भएपछि झोला तलासी गर्दा उक्त गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।