बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

धनराजलाई शुभकामना दिँदै पद्माले भनिन् : आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईंबाट अपहरित नहोस्

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालल स्याङ्जा २ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले गुरुङलाई निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल युवाहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउन सुझाएकी छन् ।

गुरुङलाई स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न नसकेको बताउँदै अर्यालले सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझ्नु एउट झुठो प्रमाणित भएको बताएकी छन् ।

उनले लेखेकी छन्

श्री धनराज गुरुङ जी,
स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक बधाई छ ।
म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं ।
 
साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।
 
खैर तपाईंलाई पुनः बधाई छ ।
 
आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस ।
 
मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन ।
 
खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पुर्णता: दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु ।
राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु ।
 
अन्त्यमा तपाईंको कार्यकाल सफल होस ।
 
शुभकामना !!