काठमाडौं- लमजुङ, दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सोही ठाउँस्थित दोर्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गतेदेखि घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।
बैतडी पञ्चेश्वर गाउँपालिका–४ सैलोडा बस्ने २१ वर्षीया माँया लुहार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा मंगलबार बिहान लुगा सिलाउन गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा घाँटी रेटिएको अवस्थामा उनको शव फेला परेको हो । साथै उनीसँगै गएकी १५ वर्षीया किशोरी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित वालाडाँगामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेको र उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडी र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।
बझाङको बुङगल नगरपालिका–८ दशपाला बस्ने अन्दाजी ५० वर्षीय मान सिंह बोहरा सोही ठाउँस्थित घट्टेखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी ईटहरी उपमहनगरपालिका–२० तरहरा डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१९ घर भएका ५२ वर्षीय योगेन्द्र घले गुरुङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । रामेछाप मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोशी नदी किनारामा सोही नगरपालिका–१ बस्ने २९ वर्षीया दुर्गा कार्की बुढाथोकी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–१ सातमुरेस्थित रिडी खोलामा सोही गाउँपालिका जोगीथुम बस्ने ४९ वर्षीया तिला कुमारी कुमाल बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।