काठमाडौं । आगामी सरकारको नेतृत्व गर्ने सबैभन्दा बलियो सम्भावना रहेको नेपाली कांग्रेसमा सबैभन्दा धेरै प्रधानमन्त्रीका आकांक्षी छन् ।
वर्तमान प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सबैभन्दा बलियो दाबेदार हुन् । उनलाई कांग्रेस संसदीय दलमा चुनिनदेखि गठबन्धनको विश्वास जित्न पनि सहज हुने देखिन्छ ।
तर, देउवालाई युवा महामन्त्री गगन थापाले यसपालि चुनौती दिने देखिएको छ । विगत लामो समयदेखि आन्तरिक तयारीमा लागेका थापा पछिल्लो समय जसरी पनि प्रधानमन्त्रीमा भिडेरै छोड्ने मनशायमा देखिन्छन् । थापाले आफू प्रधानमन्त्रीको दाबेदार भन्दै गएको मंसिर ४ को निर्वाचनमा समेत मत मागेका थिए। कांग्रेस महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिने बताएका छन् ।
थापालाई कांग्रेसको युवा पंक्तिले साथ दिने सम्भावना पनि उत्तिकै छ । तर, संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला पनि यही दौडमा छन्। उनले गगनको आकांक्षाबारे हालसम्म औपचारिक रुमपा केही बोलेको सुनिएको छैन । थापालाई शेखरसहित संस्थापनइतर समूहले एकल उम्मेदवार बनाएको अवस्थामा उनको दाबेदारीमा थप बल पुग्नेछ । यता नेता शशांक कोइराला पनि युवापुस्तामा भन्दा पनि कांग्रेसबाट आफू नै देशको प्रधाानमन्त्री हुन योग्य भएको बताउँदै आएका छन्। तर, इतर समूहमै तानातान भएको अवस्थामा देउवालाई थप सहज हुने निश्चित छ ।
कांग्रेसमा देउवा र थापा मात्रै होइन प्रधानमन्त्रीका अरू आकांक्षीहरूको पनि लर्कै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक प्रधानमन्त्री भइछाड्ने अडानमा छन्। आजै मात्र पनि चितवन पुगेर ‘प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो’ भने । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताए ।
“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहाँले बताउनुभयो । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।
देउवा, पौडेल, कोइराला र थापाबाहेक प्रकाशमान सिंह र शशांक कोइराला पनि यही दौडमा छन् । यद्यपि, उनीहरूको सम्भावना निकै कम छ । कांग्रेसबाहेक गठबन्धनमा नेकपा माओवादीले पनि सरकारको नेतृत्वमा ‘च्याँखे दाउ’ थापेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि देउवालाई प्रधानमन्त्री बनाएको ऋणको ब्याज खाने दाउमा छन् । पार्टीले चुनावी परिणाम राम्रो नपाए पनि अबको पाँच वर्ष आधा अवधि भए पनि सरकारको नेतृत्व गर्ने दाउमा उनी छन् । उनले गठबन्धन बाहेकको प्रधानमन्त्रीको सम्भावना पनि खुलै राखेका छन् ।
प्रधानमन्त्रीका लागि आधा दर्जन आकांक्षी भएपछि नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत देखिएको छ ।
यदि नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले ८८ सिट पाएमा संसदीय दलको नेता बन्न ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।